बारा, ०५ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विकास योजनाको छनोट र बजेट विनियोजन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा आवश्यकता–आधारित बनाउन ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीस्वरूप उपमहानगरपालिकाले मातहतका सबै वडा तथा सम्बन्धित निकायलाई असार ६ गतेभित्र प्रस्तावित योजनाहरू आयोजना बैंकमा प्रविष्ट गरिसक्न निर्देशन दिएको छ ।

नगर प्रमुख राजन पौडेलका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२ मा गरिएको व्यवस्थाअनुसार अब आयोजना बैंकमा समावेश भई छनोट भएका योजनाहरूमा मात्र बजेट विनियोजन गरिनेछ ।

उनले योजना छनोट प्रक्रियालाई व्यक्तिकेन्द्रित नभई आवश्यकतामा आधारित, तथ्यपरक र प्रणालीगत बनाउन आयोजना बैंकको अवधारणा कार्यान्वयन गर्न लागिएको बताए । यसबाट योजनाको प्राथमिकता निर्धारण, स्रोत व्यवस्थापन तथा विकास निर्माणका कार्यहरू थप प्रभावकारी हुने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाले आयोजना बैंकको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई विभिन्न चरणमा अभिमुखीकरण तथा प्रशिक्षणसमेत प्रदान गरिसकेको जनाएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य तथा वडा सचिवहरूलाई यस सम्बन्धी कार्यशालामार्फत आवश्यक जानकारी र सीप प्रदान गरिएको छ ।

यसअघि नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको उपमहानगरपालिकाले असार ७ गते वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आयोजना बैंकको व्यवस्थाले विकास योजनाको छनोटमा पारदर्शिता बढ्ने र सीमित स्रोतसाधनको प्रभावकारी उपयोग हुने विश्वास गरिएको छ ।