बालविकास शिक्षकका लागि पाँचदिने तालिम

महोत्तरी, ०५ असार । प्रारम्भिक बालशिक्षालाई थप प्रभावकारी, सिर्जनात्मक र बालमैत्री बनाउने उद्देश्यले महोत्तरीको जलेश्वरमा बालविकास शिक्षकहरूका लागि पाँचदिने आधारभूत तालिम सुरु भएको छ ।
रतौली युवा क्लबको आयोजनामा सञ्चालन भएको तालिममा मनराशिसवा नगरपालिका र बलवा नगरपालिकाका बालविकास केन्द्रमा हालै नियुक्त १६ जना शिक्षक सहभागी भएका छन् । सहभागीमध्ये १५ जना मनराशिसवा नगरपालिकाका तथा एक जना बलवा नगरपालिकाका शिक्षक रहेका छन् ।
आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य बालबालिकालाई खेल, कथा, गीत, कविता तथा अन्य सिर्जनात्मक विधिमार्फत सिकाइप्रति आकर्षित गर्दै प्रारम्भिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु हो ।
रतौली युवा क्लबका शिक्षा अधिकृत शिवशंकर चौधरीले बालबालिकाको सिकाइ यात्राको आधार बालविकास कक्षाबाट सुरु हुने भएकाले शिक्षकहरूको क्षमता विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले तालिममार्फत नयाँ शिक्षकहरूलाई बालमैत्री शिक्षण विधि, कक्षा व्यवस्थापन तथा बालबालिकाको मनोविज्ञानअनुसार सिकाइ सहजीकरणका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइने जानकारी दिए ।
तालिम उद्घाटन कार्यक्रममा मनराशिसवा नगरपालिकाका शिक्षा प्रमुख जयशंकर मण्डलले प्रारम्भिक बालशिक्षा बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले शिक्षकको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवार हुने बताए । उनले बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न र सिकाइलाई रमाइलो बनाउन शिक्षकमा आवश्यक सीप र सिर्जनशीलता हुनुपर्नेमा जोड दिए ।
सेभ द चिल्ड्रेनको एसडीएफ परियोजनाअन्तर्गत परियोजना संयोजक असबीर सारुले प्रारम्भिक बालविकास शिक्षाले बालबालिकामा शिक्षाप्रतिको रुचि जगाउने तथा सिकाइको बलियो आधार तयार गर्ने भएकाले यस क्षेत्रमा कार्यरत शिक्षकको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताए । उनले पाठ्यक्रमअनुसार खेलकुद, कथा, गीत तथा कवितामार्फत सिकाइलाई सहज र प्रभावकारी बनाउने विषयमा विशेष प्रशिक्षण प्रदान गरिने जानकारी दिए ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा बालविकासको अवधारणा, बालविकासका विभिन्न आयाम, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, बालमैत्री शिक्षण विधि, सिकाइ सामग्रीको प्रयोग र कक्षा व्यवस्थापनलगायत विषयमा प्रशिक्षण, छलफल तथा अन्तरक्रिया गरिनेछ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा मनराशिसवा र बलवा नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको तालिमको सहजीकरण कल्पना साह, कञ्चन साह र गोविन्दलाल कर्णले गरिरहेका छन् भने कार्यक्रमको अनुगमन सोनु कुमार साहले गरिरहेका छन् ।

