जग्गा विवाद चर्किँदा सर्लाहीमा तनाव

सर्लाही, ०५ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ मा जग्गा विवादका क्रममा गाडी तोडफोड तथा प्रहरी कार्यालयमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अदालतको आदेशपछि आफ्नो स्वामित्वको जग्गा भोगचलन गर्न पुगेका पक्ष र स्थानीयबीच विवाद उत्पन्न हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।
घटनापछि छलफल तथा सुरक्षा समन्वयका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला एक पक्षको सवारी साधनमाथि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहामा बसोबास गर्दै आएका ३२ वर्षीय विनोद कडेरिया, ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार विवादको केन्द्रमा रहेको जग्गाबारे जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्व कायम रहेको ठहर गर्दै भोगचलनमा अवरोध नगर्न आदेश दिएको थियो । सोही आदेश कार्यान्वयनका क्रममा उत्पन्न विवादले उग्र रूप लिएको बताइएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी कार्यसमेत जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले अदालतको आदेश कार्यान्वयनमा अवरोध पुर्याउने र सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

