महोत्तरी, ०५ असार । महोत्तरीको बर्दिबास नगरपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी उमेरमा विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले नयाँ कार्यक्रम घोषणा गरेको छ ।

अब २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने नगर क्षेत्रका छोरीहरूले ५१ हजार रुपैयाँ नगद प्रोत्साहन प्राप्त गर्ने भएका छन् ।

नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो ।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार आगामी आर्थिक वर्षदेखि लागू हुने यो कार्यक्रमले बालविवाह निरुत्साहित गर्न र कानुनी उमेरपछि मात्र विवाह गर्नुपर्छ भन्ने सामाजिक सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

नगरप्रमुख क्षेत्रीले नगरसभामा घोषणा गरिएको यो व्यवस्थालाई स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । उनका अनुसार प्रोत्साहन कार्यक्रमले किशोरी तथा अभिभावक दुवैमा विवाहसम्बन्धी कानुनी सचेतना बढाउने विश्वास लिइएको छ ।

यसअघि नगरपालिकाले मुसहर समुदायलाई लक्षित गर्दै २०८० चैतमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने कार्यक्रम सुरु गरेको थियो । तर, हालसम्म एक जोडीले मात्र उक्त सुविधा प्राप्त गरेको नगरपालिकाको अभिलेखले देखाएको छ ।

स्थानीय सामाजिक तथा राजनीतिक कार्यकर्ता देवनारायण महतोका अनुसार मुसहर समुदायमा बालविवाह अझै चुनौतीका रूपमा रहेकाले प्रोत्साहन कार्यक्रमको प्रभावकारिता बढाउन थप जनचेतनामूलक अभियान आवश्यक छ ।

बर्दिबास नगरपालिकाका १४ वडामध्ये १३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् भने वडा नं. १२ मात्र बालविवाहमुक्त घोषणा हुन बाँकी रहेको छ । नगरपालिकाले ल्याएको नयाँ प्रोत्साहन योजनाले बाँकी क्षेत्रमा पनि बालविवाह अन्त्य गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

नगरपालिकाले स्पष्ट पारेअनुसार आम समुदायका छोरीहरूका लागि ५१ हजार रुपैयाँ प्रोत्साहनको व्यवस्था गरिए पनि मुसहर समुदायका पुरुष र महिला दुवैलाई प्रोत्साहन दिने पुरानो व्यवस्था यथावत् रहनेछ । बालविवाहका घटना बढी देखिने समुदायमा विशेष कार्यक्रममार्फत सामाजिक सुधारको प्रयासलाई निरन्तरता दिइने नगरपालिकाको भनाइ छ ।

महिला अधिकारकर्मी तथा सामाजिक अगुवाहरूले नगरपालिकाको यो निर्णयलाई बालविवाह नियन्त्रण, महिला सशक्तीकरण तथा सामाजिक रूपान्तरणतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् ।