वडाध्यक्ष र प्रधानाध्यापकबिचको विवादको मारमा विद्यार्थी, दुई महिनादेखि दिवा खाजा बन्द

बारा, ०५ असार । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा दुई महिनादेखि दिवा खाजा कार्यक्रम ठप्प भएको छ । यसको प्रत्यक्ष असर सयौं विद्यार्थीको पढाइ र उपस्थितिमा परेको छ ।
विद्यालयमा वैशाख महिनादेखि दिवा खाजा वितरण बन्द भएपछि बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा विद्यालय आउन छाडेका छन् ।
बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन हुने विद्यालयमा खाजा नपाएपछि कतिपय विद्यार्थी मध्याह्नअघि नै घर फर्किने र पुनः कक्षामा नआउने गरेको शिक्षकहरू बताउँछन् ।
हाल विद्यालयमा ६३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये बालविकासदेखि कक्षा ५ सम्मका ४०१ जना विद्यार्थीका लागि सरकारले प्रतिविद्यार्थी दैनिक २० रुपैयाँका दरले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले यस वर्षको बजेटसमेत निकासा गरिसकेको भए पनि विद्यालयभित्रको विवादका कारण कार्यक्रम सञ्चालन हुन सकेको छैन ।
शिक्षिका निरु पुनका अनुसार खाजा कार्यक्रम बन्द भएपछि विद्यार्थीको उपस्थितिमा उल्लेख्य गिरावट आएको छ । गर्मीका कारण भोकै विद्यालय आउने केही विद्यार्थीलाई चक्कर लाग्ने र बेहोस हुने अवस्था समेत देखिएको उनले बताइन् ।
अर्का शिक्षक कृष्णकुमार दासले पनि दिवा खाजा बन्द भएपछि कक्षाकोठामा विद्यार्थी संख्या उल्लेखनीय रूपमा घटेको बताए । विशेष गरी विपन्न, दलित तथा मजदुर परिवारका बालबालिकालाई यसले बढी असर गरेको उनको भनाइ छ ।
प्रधानाध्यापक रामनरेश यादवले विद्यालयमा अनुकूल वातावरण नबनेका कारण खाजा कार्यक्रम सञ्चालन गर्न नसकिएको दाबी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा पटक पटक जानकारी गराउँदा पनि वडाध्यक्षको सहयोग नपाएको उनको आरोप छ । वातावरण सहज बनेपछि तत्काल कार्यक्रम पुनः सञ्चालन गरिने उनले बताए ।
यता, वडा नं. २४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुल्तान अन्सारीले भने खाजा कार्यक्रम रोक्नु प्रधानाध्यापकको नियोजित कदम भएको आरोप लगाएका छन् । आफूले पटक पटक खाजा वितरण गर्न आग्रह गर्दा पनि प्रधानाध्यापकले बेवास्ता गरेको उनको दाबी छ ।
विवाद चुलिँदै जाँदा विद्यालयको समग्र शैक्षिक अवस्था पनि प्रभावित भएको देखिएको छ । स्थलगत अवलोकनका क्रममा कतिपय विद्यार्थीले उपमहानगरपालिकाले वितरण गर्ने निःशुल्क पोशाकसमेत नपाएको पाइएको छ । यसै वर्षको एसईई परीक्षामा सहभागी ३२ विद्यार्थीमध्ये एक जना मात्र उत्तीर्ण भएको तथ्यांकले विद्यालयको कमजोर शैक्षिक अवस्था उजागर गरेको छ ।
जीतपुरसिमरा उपमहानगर शिक्षा महाशाखाले भने वडाध्यक्ष र प्रधानाध्यापकबीचको टकरावका कारण विद्यालय समस्याग्रस्त बनेको निष्कर्ष निकाल्दै विद्यालयको नेतृत्व परिवर्तन गरेर समस्या समाधानतर्फ अघि बढ्न शिक्षा समितिलाई सुझाव दिएको जनाएको छ ।
उपमहानगरभित्र रहेका ६० सामुदायिक विद्यालयमध्ये ग्रामीण क्षेत्रका विद्यालयहरू प्रभावकारी अनुगमनको अभावमा विभिन्न समस्यासँग जुधिरहेका छन् ।
हरपुरस्थित नेरामाविको घटना त्यसकै एउटा उदाहरणका रूपमा देखिएको छ । त्यहाँ आन्तरिक विवादको मारमा साना विद्यार्थीहरू परेका छन् ।

