जनकपुरधाम, ०५ असार । क्षयरोग नियन्त्रण तथा निवारणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था (नाटा) धनुषा शाखाले विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा आयोजित एकदिने कार्यक्रममा जुनियर नाटा इकाइ समितिका पदाधिकारी तथा सदस्य गरी २५ जना विद्यार्थी सहभागी भएका थिए ।

नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाका सभापति सन्तकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम–१० स्थित आधारभूत जनस्वास्थ्य केन्द्रकी अधिकृत अर्चना पाठकले क्षयरोगको कारण, लक्षण, परीक्षण प्रक्रिया तथा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क उपचार सेवाबारे प्रशिक्षण दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कार्कीले क्षयरोग अझै पनि नेपालको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

उनले २०१० सालमा स्थापना भएको नेपाल क्षयरोग निवारण संस्था देशकै पुराना गैरसरकारी संस्थामध्ये एक भएको उल्लेख गर्दै हाल ३२ जिल्ला शाखामार्फत उपचार, रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

धनुषा शाखाले पनि विद्यालय, समुदाय तथा विभिन्न समूहमा पुगेर क्षयरोगसम्बन्धी सचेतना फैलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो । समाजलाई क्षयरोगमुक्त बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशिक्षणबाट हासिल गरेको ज्ञान समुदायसम्म पुर्याउन विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य एवं धनुषा शाखा सदस्य श्रवणकुमार साह, पूर्वकेन्द्रीय सदस्य दिनेश शर्मा, अरनिको विद्यालयका प्रिन्सिपल दीपेन्द्रकुमार झा तथा शिक्षक जितेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाले विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यले जुनियर नाटा गठन तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।