निरोगी जीवनका लागि दैनिक योग आवश्यक: मुख्यमन्त्री यादव

जनकपुरधाम, ०५ असार । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वस्थ र निरोगी जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योगाभ्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन नियमित योग आवश्यक रहेको उल्लेख गरे ।
उनले व्यस्त जीवनशैलीका बीच पनि प्रत्येक व्यक्तिले दैनिक कम्तीमा एक घण्टा योगका लागि समय छुट्याउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री यादवले योगले शरीरलाई मात्र स्वस्थ राख्ने नभई सोच, व्यवहार र जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने बताए ।
‘स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । स्वस्थ रहन योग प्रभावकारी माध्यम भएकाले सबैले नियमित योगाभ्यास गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले योगको महत्वबारे चर्चा गर्दै स्वस्थ समाज निर्माणका लागि योग संस्कृतिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले योग शिक्षालाई विद्यालय तथा स्थानीय तहमार्फत जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताए ।
पर्सास्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेश प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित सामूहिक योगाभ्यासमार्फत योगप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

