जनकपुरधाम, ०४ असार । जनकपुरधामस्थित समर हस्पिटलमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल प्रशासनमाथि चिकित्सकीय लापरवाहीको आरोप लागेको छ ।

घटनापछि पीडित परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको हो ।

मृतक नगराईन नगरपालिका–३ फुलगामाकी २३ वर्षीया अञ्जली मुखिया रहेको परिवारले जनाएको छ । मुखियालाई सुत्केरी गराउन मंगलबार समर हस्पिटलमा भर्ना गरिएको थियो ।

परिवारका अनुसार मंगलबार साँझ उनको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।

शुरूवाती अवस्थामा अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको भए पनि केही समयपछि अत्यधिक रक्तस्राव सुरु भएको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

रक्तस्राव नियन्त्रणका लागि पटक पटक रगत चढाइए पनि उनलाई बचाउन नसकिएको परिवारको भनाइ छ ।

मृतकका पति करण मुखियाले शल्यक्रियाका क्रममा गम्भीर त्रुटि भएको आरोप लगाएका छन् । उनका अनुसार अपरेशनपछि भित्री नसमा क्षति पुग्दा अत्यधिक रक्तस्राव भएको थियो ।

उनले अस्पतालले समयमै प्रभावकारी उपचार र व्यवस्थापन गर्न नसकेको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

‘सामान्य अवस्थामै अस्पताल पुगेकी श्रीमतीको मृत्यु हुनु शंकास्पद छ,’उनले भने, ‘यसअघि पनि यस्ता घटना भएको सुनिएको थियो । त्यसैले सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ ।’

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासी अस्पताल परिसरमा भेला भई आक्रोश व्यक्त गरेका थिए ।

परिवारले अस्पताल प्रशासनसँग घटनाबारे स्पष्ट जवाफ मागे पनि सम्बन्धित चिकित्सक तथा अस्पताल सञ्चालक सम्पर्कमा नआएको आरोप लगाएको छ ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यस विषयमा अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

सम्बन्धित निकायले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको छ ।