जनकपुरधाम, ०४ असार । मधेश प्रदेश सभा सचिवालय जनकपुरधाममा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ । उक्त पुस्तकालय भवनको उद्घाटन सभामुख रामअशिष यादवले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले पुस्तकालयलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै यसलाई विधायन प्रक्रियालाई सुदृढ बनाउने ज्ञान केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले प्रदेशसभा सदस्यहरूको नीति निर्माण क्षमता अभिवृद्धि गर्न यस्ता संरचनाहरू अत्यन्त उपयोगी हुने उल्लेख गर्दै पुस्तकालयलाई निरन्तर अद्यावधिक र डिजिटल प्रणालीसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बोल्दै उपसभामुख बबिता राउत ईशरले पुस्तकालयलाई पुस्तक संकलन गर्ने स्थान मात्र नभई अध्ययन, अनुसन्धान र नीतिगत बहसको जीवित केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् ।

उनले विशेषगरी युवा सांसद तथा कर्मचारीहरूलाई यसको अधिकतम उपयोग गर्न आग्रह गर्दै संसदीय अभ्यासलाई तथ्य आधारित बनाउने दिशामा यो महत्वपूर्ण कदम हुने धारणा व्यक्त गरिन् ।

त्यस्तै, कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले पनि पुस्तकालय स्थापना प्रदेशको विधायिकी इतिहासमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा सुशासन र नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

प्रदेश सभा सचिवालयका कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा पुस्तकालयलाई संसदीय अध्ययन, अभिलेख व्यवस्थापन र अनुसन्धानको केन्द्रका रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

नवनिर्मित पुस्तकालय भवन सञ्चालनमा आएसँगै मधेश प्रदेश सभाको संस्थागत क्षमता थप मजबुत हुने विश्वास गरिएको छ ।