जनकपुरधाम, ०४ असार । धनुषामा मिटरब्याजी प्रवृत्ति पूर्ण रूपमा अन्त्य नहुँदै ऋण दिने नाममा जग्गा र चेक दुवै कब्जा गरी ठगी गरिएको आरोप सार्वजनिक भएको छ ।

पीडित पक्षले जग्गा फिर्ता नदिएको, नागरिकता दुरुपयोग भएको तथा व्यवसायिक कारोबारमा अनधिकृत प्रयोग गरिएको आरोप लगाएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५ का राकेश कुमार महतोले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जनकपुरधाम उपमहानगरपालिका–१० का सचिन साहले आफूसँग ठगी गरेको आरोप लगाए ।

महतोका अनुसार उनले २०८१ असार २३ गते हरिहरपुरमा १ कठ्ठा ४ धुर जग्गा खरिद गरेका थिए । जलेश्वरमा कवाड व्यवसाय सञ्चालन गर्दै आएका उनले व्यवसाय विस्तारका लागि ६ लाख रुपैयाँ ऋण आवश्यक परेपछि सचिन साहसँग सहयोग मागेका थिए ।

साहले जग्गा धितो राखेपछि मात्र ऋण दिने बताएपछि २०८१ चैत १० गते उक्त जग्गा साहको नाममा राजीनामा गरिदिएको उनले बताए । त्यसै क्रममा ६ लाख रुपैयाँ बराबरको मिति उल्लेख नभएको चेक पनि काटेर दिएको महतोको दाबी छ ।

उनका अनुसार व्यवसायबाट कमाएको आम्दानी तथा बैंकिङ कारोबारमार्फत ८–९ महिनाभित्र ऋण पूर्ण रूपमा चुक्ता गरिसकिएको भए पनि जग्गा फिर्ता गर्न अस्वीकार गरिएको छ ।

‘मैले ऋण पूरै तिरेको प्रमाण छ । तर, मेरो करिब ५० लाख रुपैयाँ मूल्यको सम्पत्ति फिर्ता दिइएको छैन,’महतोले पत्रकार सम्मेलनमा भने ।

महतोले यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको तर लामो समयसम्म दर्ता नभएको गुनासो पनि गरेका छन् । उनले चैत २५ गते निवेदन दिएको भए पनि तीन महिनासम्म धाउँदा समेत सुनुवाइ नभएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा सहभागी अनिता देवीले पनि सचिन साहमाथि आफ्नो नागरिकता दुरुपयोग गरी संस्था दर्ता तथा भ्याट कारोबार सञ्चालन गरिएको आरोप लगाइन् ।

उनका अनुसार साह र उनकी श्रीमतीले नागरिकता लिएपछि त्यसको दुरुपयोग भएको पछि मात्र थाहा पाइएको हो ।

त्यस्तै, काजल मण्डलले पनि आफ्नो नागरिकताको प्रतिलिपि प्रयोग गरी संस्था दर्ता गरिएको र त्यसपछि मात्र आफूलाई जानकारी भएको बताइन् । उनले समेत न्यायका लागि सार्वजनिक रूपमा बोल्न बाध्य भएको बताइन् ।

यसैबीच, सचिन साह हाल धाकधम्कीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सूचना प्राप्त भएको छ । यद्यपि, यस विषयमा प्रहरीको आधिकारिक पुष्टि भने आएको छैन । साथै साहसँग दोहोरो नागरिकता रहेको आरोपसमेत सार्वजनिक भएको छ ।

पीडितहरूले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र आफूहरूलाई न्याय दिलाउन माग गरेका छन् ।