सर्लाही, ०४ असार । सर्लाहीको मलंगवा नगरपालिकास्थित एक व्यवसायिक गोदामबाट अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको फर्सीको बीउ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मलंगवा नगरपालिका–२ कृष्णमन्दिर नजिक सञ्चालनमा रहेको दिनकर सेल्स सप्लायर्समा राखिएको ७५ बोरा फर्सीको बीउ संयुक्त सुरक्षा टोलीले बरामद गरेको हो । उक्त सप्लायर्स स्थानीय व्यवसायी नवीनकुमार यादवको स्वामित्वमा रहेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउटपोस्ट खुटौना, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले छापा मारेर बीउ नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार टोलीले जेठ ३ गते राति नै गोदाममा छापा हानेर बीउ बरामद गरेको थियो । बरामदका क्रममा केही स्थानीय व्यक्तिहरू भेला भई सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।

स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन एक राउन्ड ग्यास सेल प्रहार गर्नुपरेको प्रवक्ता कार्कीले जानकारी दि ए। ढुंगा प्रहारका कारण सशस्त्र प्रहरीको ट्रकमा सामान्य क्षति पुगेको जनाइएको छ ।

बरामद गरिएको ७५ बोरा फर्सीको बीउ आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।