पोखरीमा अज्ञात पुरुषको शव फेला

जनकपुरधाम, ०४ असार । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित एक सरकारी पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयवासीले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउने तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार मृतकको उमेर करिब ४० वर्ष रहेको अनुमान गरिएको छ । तर, हालसम्म उनको नाम, थर, ठेगाना तथा अन्य पहिचान खुल्न सकेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले अज्ञात पुरुषको शव पोखरीमा फेला परेको पुष्टि गर्दै पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ ।
घटनाको प्रकृति, मृत्युको कारण तथा शव पोखरीमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रहरीले मृतकको पहिचान तथा घटनाको यथार्थ विवरण खुलाउन थप अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।

