सुरुङ खनेर तीन घरमा चोरी

रौतहट, ०४ असार । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा अज्ञात चोर समूहले सुरुङ खनेर तीनवटा घरमा प्रवेश गर्दै नगद तथा सुनचाँदीका गहना चोरी गरेको घटना सार्वजनिक भएको छ । बुधबार मध्यराति भएको उक्त घटनाले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ ।
प्रहरीका अनुसार चोरहरू घरधनीहरू गहिरो निद्रामा रहेका बेला पालैपालो तीन घरमा प्रवेश गरेका थिए । सुरुङमार्फत घरभित्र छिरेका चोरहरूले नगद र बहुमूल्य गहनामाथि हात साफ गरेका हुन् ।
पीडितमध्ये रामप्रसाद यादवको घरबाट चोरहरूले ट्रङ्कको ताला खोलेर नगद २ लाख ८० हजार रुपैयाँ र करिब २ लाख ४० हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरेका छन् । चोरी भएका गहनामा मंगलसूत्र र हनुमानी रहेको परिवारले जनाएको छ ।
त्यसैगरी तेजनारायण यादवको घरबाट चाँदीका तीन थान बाला चोरी भएको छ । ती गहनाको मूल्य करिब २० हजार रुपैयाँ रहेको बताइएको छ ।
चोरहरूले गजेन्द्र सहनीको घरमा समेत प्रवेश गरेका थिए । तर, उक्त घरबाट कुनै सामान चोरी नभएको स्थानीयवासीले बताएका छन् ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय विजयपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
स्थानीय जनप्रतिनिधिका अनुसार चोरी भएका घरमा रहेका ट्रङ्क र बाकसाको ताला फुटाइएको नभई सहज रूपमा खोलिएको अवस्थामा फेला परेको छ । यसले चोरहरूले नक्कली चाबी वा विशेष उपकरण प्रयोग गरेको हुनसक्ने आशंका बढाएको छ ।
वडा अध्यक्ष रामएकवाल यादवले चोरहरू योजनाबद्ध र व्यावसायिक समूह हुनसक्ने अनुमान गर्दै घटनाको सूक्ष्म अनुसन्धान आवश्यक रहेको बताए । उनका अनुसार घरका सदस्यहरूलाई कुनै सुइँको नदिई सुरुङ खनेर घरभित्र प्रवेश गर्नु र ताला नफोडी सामान निकाल्नुले चोरीको शैली सामान्य नभएको संकेत गर्छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

