जनकपुरधाम, ०४ असार । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरी सञ्चालन, अनुमति विपरीत कक्षा सञ्चालन, न्यून विद्यार्थी संख्यामा विद्यालय चलाउने, फरक नाममा संस्था सञ्चालन गर्ने तथा कोचिङ सेन्टरलाई विद्यालयका रूपमा प्रयोग गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न थालेको छ ।

उपमहानगरपालिकाको शिक्षा समितिले पछिल्ला महिनाहरूमा २० भन्दा बढी निजी विद्यालयहरूको स्थलगत अनुगमन गर्दा अधिकांश विद्यालयमा गम्भीर प्रकृतिका अनियमितता फेला परेका छन् ।

अनुगमनका क्रममा कतिपय विद्यालयले एउटा संस्थाको नाममा अनुमति लिएर अर्कै नामबाट विद्यालय सञ्चालन गरिरहेको, अनुमति प्राप्त स्थानभन्दा फरक ठाउँमा विद्यालय चलाइरहेको, अनुमति नभएको कक्षा सञ्चालन गरिरहेको तथा न्यूनतम विद्यार्थी संख्या समेत पूरा नगरी विद्यालय सञ्चालन गरिरहेको पाइएको शिक्षा समितिले जनाएको छ ।

शिक्षा समितिले यस्ता विद्यालयहरूलाई जरिवाना, कक्षा खारेजीदेखि विद्यालय बन्द गर्नेसम्मका निर्देशन दिएको छ । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र कानुनी दायराभित्र ल्याउन अनुगमनलाई अझ तीव्र बनाइने समितिले जनाएको छ ।

अनुमति एउटा, विद्यालय अर्को
अनुगमन प्रतिवेदनअनुसार जनकपुरधाम–१३ मा सञ्चालनमा रहेको न्यू पिनाकल एकेडेमीले पिस टेक्निकल एकेडेमी प्रालिको नाममा अनुमति लिएर फरक नामबाट विद्यालय सञ्चालन गरिरहेको भेटिएको छ ।

विद्यालयमा कक्षा २ देखि ५ सम्म विद्यार्थी संख्या अत्यन्त न्यून रहेको पाइएको छ । कक्षा २ मा ६ जना, कक्षा ३ मा ५ जना, कक्षा ४ मा ५ जना र कक्षा ५ मा ५ जना मात्र विद्यार्थी भेटिएपछि विद्यालयलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी, जनकपुरधाम–८ मा सञ्चालित नेशनल चिल्ड्रेन पार्क ईङ्ग्लिस बोर्डिङ स्कुलले अर्को विद्यालयको नाममा अनुमति लिएर सञ्चालन गरिरहेको तथा आवश्यक न्यूनतम विद्यार्थी संख्या पूरा नगरेको अनुगमन टोलीले जनाएको छ ।

विद्यालयका माथिल्ला कक्षाहरूमा दुई–दुई जना मात्र विद्यार्थी भेटिएपछि विद्यालयको वैधानिकतामाथि नै प्रश्न उठेको छ । उक्त विद्यालयलाई समेत पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुमति आठसम्म, पढाइ दशसम्म
अनुगमनका क्रममा सबैभन्दा गम्भीर विषयमध्ये एक विद्यालयहरूले अनुमति प्राप्त कक्षाभन्दा माथिका कक्षा सञ्चालन गर्नु रहेको देखिएको छ ।

जनकपुरधाम–२१ मा सञ्चालित श्री लक्ष्मी सरस्वती पार्वती ईङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा ८ सम्मको अनुमति लिएर कक्षा १० सम्म पढाइ सञ्चालन गरिरहेको भेटिएको छ । साथै विद्यालयले अलग स्थानमा शाखा सञ्चालन गरेकोसमेत पाइएको छ ।

शिक्षा समितिले यसलाई शिक्षा ऐन तथा स्थानीय शिक्षा नियमावलीको ठाडो उल्लङ्घन ठहर गर्दै अतिरिक्त कक्षा बन्द गर्न निर्देशन दिएको छ । विद्यालयलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ भने अनुमति बाहिर सञ्चालन गरिएका कक्षाहरू तत्काल बन्द गर्न भनिएको छ ।

नाम एउटा, अनुमति अर्को
अनुगमन टोलीले जनकपुरधाम–१३ स्थित जेम्स एकेडेमी स्कुलमा समेत गम्भीर अनियमितता फेला पारेको छ । युनिक एजुकेशन एग्रो फाउन्डेशनको नाममा अनुमति लिइएको भए पनि विद्यालय जेम्स एकेडेमी स्कुलको नामबाट सञ्चालन भइरहेको पाइएको छ ।

विद्यालयले कक्षा ८ सम्म अनुमति पाए पनि कक्षा ६ सम्म मात्र सञ्चालन गरेको, माथिल्ला कक्षामा विद्यार्थी संख्या अत्यन्त न्यून रहेको तथा अनुमति लिएर पनि निर्धारित मापदण्ड पूरा नगरेको निष्कर्ष निकालिएको छ ।

शिक्षा समितिले कक्षा ७ र ८ को अनुमति खारेज गर्न प्रक्रिया अघि बढाउनुका साथै पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

कतै विद्यार्थी छैनन्, कतै विद्यालय नै छैन
अनुगमनका क्रममा केही विद्यालयमा विद्यार्थी संख्या यति न्यून भेटिएको छ कि विद्यालय सञ्चालनको औचित्यमाथि नै प्रश्न उठेको छ ।

जनकपुरधाम–८ स्थित लिटल च्याम्प एजुकेशन प्रालिले कक्षा ५ सम्म सञ्चालनको अनुमति लिए पनि युकेजीसम्म मात्र कक्षा सञ्चालन गरेको भेटिएको छ ।

अनुमति लिएको वर्ष र कम्पनी दर्ता भएको वर्षबीच समेत असामञ्जस्य देखिएको छ । शिक्षा समितिले उक्त विद्यालयलाई पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।

यस्तै, सिद्धार्थ मन्टेश्वरी ईङ्ग्लिस बोर्डिङ स्कुलले अनुमति नै नलिई विभिन्न तह सञ्चालन गरिरहेको तथा आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको छ । विद्यालयलाई पनि जरिवानासहित बन्द गर्न निर्देशन दिइएको छ ।

कोचिङ सेन्टरको आवरणमा विद्यालय
अनुगमनका क्रममा केही संस्थाले कोचिङ सेन्टरको नाममा विद्यालय सञ्चालन गरिरहेको समेत भेटिएको छ ।

जनकपुरधाम–२३ मा सञ्चालित स्टुडेन्ट एकेडेमीले विद्यालय सञ्चालनको अनुमति नलिई शैक्षिक गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।

शिक्षा समितिले यस्ता संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा नगरी विद्यालय नचलाउन चेतावनी दिँदै जरिवाना गरेको छ । आगामी दिनमा यस्ता संस्थामाथि थप कडा कारबाही हुने शिक्षा समितिका सदस्य दिपक ठाकुरले चेतावनी दिए । ठाकुरले शिक्षा क्षेत्रलाई व्यापारिक स्वार्थको माध्यम बनाउने प्रवृत्ति सह्य नहुने स्पष्ट पारे ।

उनले पछिल्लो समय गरिएको २० भन्दा बढी निजी विद्यालयहरूको अनुगमनबाट धेरै विद्यालयले कानुन, मापदण्ड र अनुमति सम्बन्धी व्यवस्था खुला रूपमा उल्लङ्घन गरिरहेको तथ्य बाहिर आएको बताए ।

उनका अनुसार केही विद्यालयले विद्यार्थी नै नभएका कक्षाहरू कागजमा मात्र देखाएर अनुमति कायम राख्ने, केहीले फरक नाममा विद्यालय सञ्चालन गर्ने, केहीले अनुमति भन्दा माथिका कक्षा सञ्चालन गर्ने र केहीले शाखा विस्तार गरेर नियम उल्लङ्घन गर्ने गरेको भेटिएको छ ।

‘शिक्षा सेवा हो, व्यवसाय मात्र होइन । अभिभावकबाट शुल्क उठाउने तर सरकारी मापदण्ड पूरा नगर्ने प्रवृत्तिलाई अब उपमहानगरपालिकाले स्वीकार गर्दैन, ’ठाकुरले भने, ‘अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार्न समय दिइएको छ । सुधार नगर्ने विद्यालयमाथि जरिवाना मात्र नभई अनुमति खारेजी र विद्यालय बन्दसम्मको प्रक्रिया अघि बढाइनेछ ।’

उनले अनुगमन अझै जारी रहेको जानकारी दिँदै शिक्षा क्षेत्रमा अनुशासन कायम गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

थप विद्यालय पनि निगरानीमा
शिक्षा समितिका अनुसार हालसम्म २० भन्दा बढी निजी विद्यालयको अनुगमन सम्पन्न भइसकेको छ भने बाँकी विद्यालयहरूको पनि चरणबद्ध रूपमा निरीक्षण भइरहेको छ ।

अनुगमनमा विद्यालयको अनुमति, शिक्षक व्यवस्थापन, विद्यार्थी संख्या, भौतिक पूर्वाधार, अभिलेख व्यवस्थापन, शुल्क संरचना तथा सञ्चालनको वैधानिक अवस्थाको अध्ययन भइरहेको छ ।

उपमहानगरपालिकाले नियम विपरीत सञ्चालन भइरहेका विद्यालयलाई सुधारको अवसर दिँदै आएको भए पनि अटेर गर्ने संस्थामाथि थप कडा प्रशासनिक र कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

शिक्षा क्षेत्रमा बढ्दो अव्यवस्था, अनाधिकृत कक्षा सञ्चालन, न्यून विद्यार्थी संख्या र अनुमति दुरुपयोगजस्ता समस्या सार्वजनिक भएपछि जनकपुरधाममा निजी विद्यालयहरूको नियमन र अनुगमनको विषय पुनः चर्चामा आएको छ ।

स्थानीय अभिभावकहरूले समेत शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाको अनुगमन अभियानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।