जनकपुरधाममा स्वर्णविन्दु थोपा अभियान सुरु

जनकपुरधाम, ०४ असार । मधेश प्रदेशका सभामुख रामआशिष यादवले आज जनकपुरधाममा आयुर्वेदको ‘स्वर्णविन्दु थोपा’ खुवाउने अभियानको औपचारिक शुभारम्भ गरेका छन् ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामको आयोजनामा सुरु भएको कार्यक्रममा सभामुख यादवले स्वस्थ, स्वच्छ र समृद्ध प्रदेश निर्माणका लागि यस्ता आयुर्वेदिक अभियानहरू प्रभावकारी हुने बताए ।
उनले पछिल्लो समय नसर्ने रोगहरू बढ्दै गएको उल्लेख गर्दै आयुर्वेदिक उपचार तथा जीवनशैली अपनाउँदा रोग रोकथाम र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे ।
सभामुख यादवले एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खुवाइने स्वर्णविन्दु थोपा उनीहरूको रोग प्रतिरोधात्मक क्षमता विकासमा उपयोगी हुने विश्वास व्यक्त गरे । साथै, मधेश प्रदेशलाई आयुर्वेद तथा वैकल्पिक उपचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
आयुर्वेद विभागका निवर्तमान महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार हाल यो कार्यक्रम मधेश प्रदेशका आठ जिल्लासहित देशका ४१ जिल्लामा सञ्चालन भइरहेको छ ।
उनले आगामी आर्थिक वर्षदेखि कार्यक्रमलाई देशका सबै ७७ जिल्लामा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै, आयुर्वेद विभाग अनुसन्धान महाशाखा प्रमुख डा. पुनेश्वर केसरीले स्वर्णविन्दु थोपाले बालबालिकाको शारीरिक प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानबाट पुष्टि भएको दाबी गर्दै अभिभावकलाई ढुक्क भएर आफ्ना बालबालिकालाई यो थोपा खुवाउन आग्रह गरे ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका प्रमुख डा. महारुद्र ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि रामविनय साह र जनकपुरधाम–१३ का वडाध्यक्ष पूर्णप्रसाद यादवले पनि स्वर्णविन्दु कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
वरिष्ठ आयुर्वेद चिकित्सक डा. ठाकुरका अनुसार एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि लक्षित यो कार्यक्रम मधेश प्रदेशका सबै जिल्लामा निरन्तर सञ्चालन गरिनेछ ।

