महोत्तरी, ०३ असार । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले संघीय लोकतान्त्रिक व्यवस्थालाई सफल बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

मटिहानी नगरपालिकाको १७औँ नगरसभाको खुला सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सभामुख यादवले जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विकास, सुशासन र सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले बजेट तथा कार्यक्रम जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुन आग्रह गरे ।

नगरसभामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित ४७ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगर प्रमुख मण्डलले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ तथा रोजगारी प्रवर्द्धनलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राखिएको बताए । उनले सीमित स्रोतका बाबजुद नगरवासीको आवश्यकता सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको उल्लेख गरे ।

नगरसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममाथि छलफल गर्दै नगर विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।