क्षयरोगविरुद्ध जनचेतना फैलाउन विद्यालयमा जुनियर नाटा इकाइ स्थापना

जनकपुरधाम, ०३ असार । क्षयरोग निवारण सम्बन्धी सचेतना तथा जनचेतनामूलक अभियानलाई विद्यालयस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले जनकपुरधाममा ‘जुनियर नाटा’ इकाइ गठन गरेको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा आयोजित विद्यार्थी भेलाबाट १५ सदस्यीय जुनियर नाटा समिति गठन गरिएको हो ।
पाँचदेखि नौ कक्षासम्म अध्ययनरत ५१ जना विद्यार्थीहरूको सहभागितामा सम्पन्न भेलाले विवेककुमार महासेठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपसंयोजकमा सोनाक्षी ठाकुर, सचिवमा सुवेश्वर यादव, सहसचिवमा अनुष्का शर्मा तथा कोषाध्यक्षमा आयुषि पटेल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा ऋषि साह, आर्या ठाकुर, प्रिन्स साह, रिया साह, प्रिन्स साह (ए), शालु ठाकुर, दीपेश महतो, सत्यम राय, नेहा साह र मो. हासिर शेख रहेका छन् ।
नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाले विद्यालय तहबाटै क्षयरोगबारे सचेतना अभिवृद्धि गर्न, रोग सम्बन्धी भ्रम हटाउन तथा स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न जुनियर नाटा गठन गरिएको जनाएको छ ।
संस्थाका अनुसार नवगठित समितिले विद्यालय तथा समुदायमा क्षयरोग नियन्त्रण, रोकथाम र जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूलाई स्वास्थ्य अभियानमा सक्रिय रूपमा सहभागी गराउनेछ ।

