नेपाल–भारत सीमा व्यवस्थापनबारे जनकपुरधाममा उच्चस्तरीय समीक्षा बैठक

जनकपुरधाम, ०३ असार । नेपाल–भारत सीमा क्षेत्रको व्यवस्थापन, सीमा स्तम्भहरूको संरक्षण तथा सीमा सर्वेक्षण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल–भारत सीमा द्वितीय फिल्ड सर्वेक्षण टोली (एफएसटी) को बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
दुवै देशका उच्च प्रशासनिक तथा प्राविधिक अधिकारीहरूको सहभागितामा सम्पन्न बैठकमा सीमा क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको हो ।
बैठकमा भारतको बिहार राज्य अन्तर्गत पर्ने पूर्वी चम्पारण, पश्चिमी चम्पारण, सुपौल, मधुबनी तथा सीतामढी जिल्लाका जिल्ला अधिकारी (डीएम) हरू तथा नेपालको धनुषा, महोत्तरी, पर्सा, सिराहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए ।
साथै दुवै देशका सुरक्षा निकायका प्रमुख, नापी विभागका प्रतिनिधि, वन कार्यालयका प्रमुख, पूर्वाधारसम्बन्धी कार्यालयका अधिकारी, सम्बन्धित विभागका प्रतिनिधि तथा भारतीय वाणिज्य दूतावासका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
बैठकमा यसअघि सम्पन्न पहिलो एफएसटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो ।
विशेषगरी नयाँ सीमा स्तम्भ निर्माण, जीर्ण तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत सम्भार तथा सीमा सर्वेक्षण कार्यको प्रगतिबारे छलफल भएको जनाइएको छ ।
दुवै देशका अधिकारीहरूले सीमा व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा नेपाल सरकार र भारत सरकारबीच भएका पूर्व निर्णय तथा सहमतिहरूलाई आधार बनाएर आगामी दिनमासमेत संयुक्त कार्ययोजना तयार गरी सीमा स्तम्भहरूको संरक्षण तथा व्यवस्थापनका कार्यलाई निरन्तरता दिने समझदारी भएको बताइएको छ ।
नेपाल–भारत खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमा विवाद न्यूनीकरण तथा सीमावर्ती क्षेत्रका नागरिकको सहज आवतजावतलाई ध्यानमा राख्दै यस्ता संयुक्त बैठकहरू नियमित रूपमा आयोजना हुँदै आएका छन् ।

