धान रोपाइँअघि मधेशका १३६ स्थानीय तहमा मल वितरण

जनकपुरधाम, ०३ असार । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै मधेश प्रदेश सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले प्रदेशका १३६ वटै स्थानीय तहमा युरिया र डिएपी मल बाँडफाँड गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार जेठ २७ गतेको निर्णयअनुसार प्रदेशभरि कुल ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी गरी १३ हजार ९३८ मेट्रिक टन मल स्थानीय तहहरूमा वितरणका लागि छुट्याइएको हो ।
मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत युरिया तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत डिएपी मलको आपूर्ति व्यवस्थापन गरेको जनाएको छ ।
धान खेतीको तयारीमा रहेका किसानलाई आवश्यक मलको अभाव हुन नदिन जिल्लागत माग र खेतीयोग्य क्षेत्रफलका आधारमा बाँडफाँड गरिएको मन्त्रालयको भनाइ छ ।
वितरण विवरणअनुसार सप्तरीका १८ स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डिएपी छुट्याइएको छ ।
सिरहाका स्थानीय तहहरूले १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डिएपी प्राप्त गर्नेछन् ।
त्यस्तै, धनुषाका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डिएपी उपलब्ध गराइएको छ ।
सर्लाहीमा १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डिएपी बाँडफाँड गरिएको छ भने रौतहटका स्थानीय तहहरूका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डिएपी छुट्याइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, बाराका स्थानीय तहले ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डिएपी प्राप्त गर्नेछन् । पर्साका स्थानीय तहहरूका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डिएपी बाँडफाँड गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा धान खेतीको क्षेत्रफल तथा मलको मागलाई ध्यानमा राख्दै वितरण योजना तयार गरिएको हो ।
वर्षे धानको उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता प्रदान गर्ने उद्देश्यले मल आपूर्तिलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
किसानहरूले विगत वर्षहरूमा रोपाइँको समयमा मल अभाव झेल्दै आएका बेला यसपटक प्रदेश सरकारले समयअघि नै मल बाँडफाँडको निर्णय गरेपछि खेतीपातीमा केही राहत पुग्ने विश्वास गरिएको छ ।

