पत्रकारले कलम नचलाए समाज अन्धकारमा जान्छ: वक्ताहरू

जनकपुरधाम, ०३ असार । संघीयता नेपालको लोकतान्त्रिक उपलब्धि भएकोले यसको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले आयोजना गरेको ‘संघीयता सबलीकरणबारे समाचार लेखन’ विषयक दुई दिने आवासीय कार्यक्रममा वक्ताहरूले संघीयता नेपालको लोकतान्त्रिक उपलब्धि भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
कार्यक्रममा मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पत्रकारलाई लोकतन्त्रका निस्वार्थ पहरेदारको संज्ञा दिँदै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘पत्रकार बिना वर्दीका पहरेदार हुन् । धेरै मानिस प्रहरीभन्दा पत्रकारसँग बढी जवाफदेही हुन बाध्य हुन्छन् । पत्रकारले कलम नचलाउने हो भने समाज अन्धकारतर्फ जान्छ ।’
मन्त्री थापाले संघीयताले महिला, बालबालिका तथा पछाडि पारिएका समुदायलाई अधिकारको पहुँचमा ल्याएको उल्लेख गर्दै नेपालमा संघीय व्यवस्था थप सुदृढ हुनुपर्ने धारणा राखिन् ।

‘आज महिलाले नेतृत्व गर्न पाएका छन्, श्रम गरेर परिवार चलाइरहेका छन्, आफ्नो अधिकारका लागि खुलेर बोल्न सकेका छन् भने त्यसमा संघीयताको पनि ठूलो योगदान छ,’ उनले भनिन् ।
उनले राज्यका विभिन्न निकायमा पहुँचबाट वञ्चित समुदाय, दोभाषे सेवा आवश्यक पर्ने नागरिक तथा नागरिक अधिकारको सुनिश्चितताका लागि समेत संघीयता अपरिहार्य रहेको बताइन् ।
कार्यक्रममा प्रशिक्षक प्राध्यापक खिमलाल देवकोटा र सञ्चारविद् भोगेन्द्र झाले संघीयताको अवधारणा, यसको विकासक्रम तथा संघीय शासन व्यवस्थामा सञ्चारमाध्यमको भूमिकाबारे सहजीकरण गरेका थिए ।
उनीहरूले संघीयता सम्बन्धी विषयलाई तथ्य, प्रमाण र जनसरोकारसँग जोडेर समाचार लेख्नुपर्नेमा जोड दिएका थिए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले सञ्चार क्षेत्रको संस्थागत विकास तथा पत्रकारको क्षमता अभिवृद्धिका लागि प्राधिकरण निरन्तर सक्रिय रहेको बताए ।
सीमित स्रोतसाधनका बाबजुद पत्रकारलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
‘हामीले धेरै सुविधा दिन सकेका छैनौं । तर, लोककल्याणकारी विज्ञापन लगायतका माध्यमबाट सञ्चार संस्था र पत्रकारलाई केही राहत दिने प्रयास गरिरहेका छौं,’ उनले भने ।

पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास र सेवा सुविधा विस्तारका लागि प्राधिकरण प्रतिबद्ध रहेको पनि उनले बताए ।
अध्यक्ष खड्गाले संघीयता किन आवश्यक छ र यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा गम्भीर बहस हुनुपर्ने आवश्यकता औँल्याए ।
संघीय संरचनाको प्रभावकारिता बढाउन मन्त्रालय तथा प्रशासनिक संरचनाको पुनरावलोकनबारे पनि राष्ट्रिय स्तरमा छलफल आवश्यक रहेको उनको भनाइ थियो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी सञ्चारकर्मीलाई संघीय शासन व्यवस्था, संवैधानिक अधिकार, प्रदेश र स्थानीय सरकारको भूमिका तथा संघीयतासँग सम्बन्धित विषयमा समाचार लेखनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइने छ ।
कार्यक्रमका सहभागीहरूले संघीयतासम्बन्धी जटिल विषयलाई तथ्यपरक, सन्तुलित र जनमुखी ढंगले प्रस्तुत गर्न यस्ता तालिम उपयोगी भएको बताए ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका प्रमुख प्रशासकीय अधिकृत संतोष साहद्वारा संचालित कार्यक्रममा स्वागत आम सञ्चार प्राधिकरण मधेश प्रदेशकी सदस्य ज्योति झाले गरिन् ।

कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ ।
आयोजकका अनुसार संघीयताको मर्म र उपलब्धिलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

