जनकपुरधाम, ०२ असार । जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय युवाहरूले वडामा बढ्दो फोहोरमैला व्यवस्थापन समस्याप्रति ध्यानाकर्षण गराउँदै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उज्ज्वल महत्ती, कौशल किशोर मिश्र र दिपु ठाकुरको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा नम्बर ४ अन्तर्गतका विभिन्न सार्वजनिक स्थल, सडक किनार तथा खाली जग्गाहरूमा लामो समयदेखि जथाभावी फोहोर थुप्रिँदै आएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा फोहोरका कारण वातावरण प्रदूषित हुनुका साथै दुर्गन्ध फैलिएको र स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएको जनाइएको छ ।

स्थानीयले फोहोर प्रभावित क्षेत्रहरूको तस्बिरसमेत संकलन गरी वडा कार्यालयलाई उपलब्ध गराएका छन् ।

उनीहरूले वडामा पर्याप्त डस्टबिनको अभाव रहेको तथा नियमित रूपमा फोहोर संकलन नहुँदा समस्या झन् जटिल बन्दै गएको बताएका छन् ।

ज्ञापनपत्रमार्फत फोहोर थुप्रिएका स्थानहरूको तत्काल सरसफाइ, नियमित फोहोर संकलनको व्यवस्था तथा आवश्यक स्थानहरूमा डस्टबिन जडान गर्न माग गरिएको छ ।

स्थानीयहरूले वडा कार्यालयले समस्याको गम्भीरता बुझेर शीघ्र आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।

ज्ञापनपत्रको बोधार्थ जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर प्रमुखलाई समेत पठाइएको छ ।