जनकपुरधाम, ०२ असार । मधेश प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको देखिएको छ ।

पछिल्लो एक वर्षको अवधिमा मानसिक स्वास्थ्यसँग सम्बन्धित कारणले प्रदेशभर १ हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र टिओपी नेपालको सहयोगमा जनकपुरधाममा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रम’ को प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार मानसिक स्वास्थ्य समस्यासँग जोडिएका घटनामध्ये झुण्डिएर मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ । एक वर्षमा झुण्डिएर १ हजार १ सय ६ जनाले ज्यान गुमाएका छन् भने विष सेवनका कारण १ सय ८२ जनाको मृत्यु भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साहले मानसिक स्वास्थ्य समस्या पछिल्लो समय सामाजिक तथा सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताए ।

उनले मानसिक रोगबारेको चेतना अभिवृद्धि, समयमै परामर्श तथा उपचार सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले प्रदेशको अवस्था झन् चिन्ताजनक रहेको उल्लेख गर्दै ६४ लाखभन्दा बढी जनसंख्या रहेको मधेशमा मानसिक रोगको उपचारका लागि सरकारी र निजी क्षेत्र गरी जम्मा १० जना विशेषज्ञ चिकित्सक मात्र रहेको जानकारी दिए ।

विशेषज्ञ जनशक्तिको अभावले उपचार सेवामा प्रत्यक्ष असर परेको उनको भनाइ थियो ।

समीक्षा कार्यक्रममा बोल्दै यूएनएफपीएका मधेश प्रदेश प्रमुख डा. नरेन्द्र कुमार मिश्रले मानसिक स्वास्थ्यसम्बन्धी कारणबाट वर्षेनी ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु गम्भीर विषय भएको बताए ।

उनले प्रत्येक स्थानीय तहमा प्रभावकारी मनोसामाजिक परामर्श सेवा विस्तार गरी जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये सामी परियोजनाको सहयोगमा ९३ पालिकासम्म मनोसामाजिक परामर्श सेवा विस्तार गरिएको छ । साथै मानसिक रोगको उपचारका लागि आवश्यक औषधि खरिद तथा वितरणको कार्य पनि सञ्चालन भइरहेको जनाइएको छ ।

आठवटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको समीक्षा कार्यक्रममा मानसिक स्वास्थ्य समस्याको बढ्दो चुनौती सामना गर्न नीति, कार्यक्रम र सेवा प्रणालीमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्या मात्र नभई सामाजिक, आर्थिक र पारिवारिक आयामसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने भन्दै समुदायस्तरमै सचेतना, परामर्श र उपचार सेवाको दायरा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।