सिरहा, ०२ असार । सिरहा प्रहरीले करिब २८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले सोमबार राति गोलबजार नगरपालिका–७ चोहर्वा र वडा नम्बर १० मा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा २७ किलो ७१५ ग्राम गाँजा बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले धर्मपुरबाट चोहर्वातर्फ आउँदै गरेको एउटा विद्युतीय अटो रोकेर जाँच गर्दा बोराभित्र लुकाइराखिएको ५ किलो ७१५ ग्राम गाँजा फेला पारेको थियो ।

सो क्रममा अटो चालक गोलबजार–७ निवासी ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र अटोमा सवार भारतको बिहार राज्य, पटना जिल्ला धनरुवा ग्राम पञ्चायतका ३० वर्षीय रोहित कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रोहित कुमारसँग गरिएको प्रारम्भिक सोधपुछबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोली गोलबजार नगरपालिका–१० स्थित छक बहादुरको घरमा पुगेको थियो ।

घरमा गरिएको खानतलासीका क्रममा चार वटा बोरामा राखिएको थप २२ किलो गाँजा बरामद भएपछि छक बहादुरलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए ।

बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।