सिरहामा अवैध उत्खननविरुद्ध प्रहरीको कारबाही, १० टिपर र एक स्काभेटर नियन्त्रणमा

सिरहा, ०२ असार । सिरहाका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न सवारी साधनमाथि प्रहरीले कारबाही गर्दै १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागन खोलाबाट आठ वटा टिपर र सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदी क्षेत्रबाट दुई वटा टिपर तथा एक स्काभेटर नियन्त्रणमा लिइएको हो ।
गागन खोलामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त टोलीले ग्राभेल लोड गरिएका आठ वटा टिपर नियन्त्रणमा लिएको थियो ।
प्रहरी टोली पुगेको थाहा पाएपछि चालकहरू सवारी साधन छाडेर फरार भएका थिए । चालकहरू भागेपछि अन्य सवारी चालकको सहयोगमा ती टिपरहरू नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा ल्याइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै पनि टिपर धनी वा चालक सम्पर्कमा आएका छैनन् ।
यस्तै, सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदी क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा टिपर र एक स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुले बताए ।
प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाइएको जनाएको छ ।
पछिल्लो समय सिरहाका नदी तथा खोला क्षेत्रमा बढ्दो अवैध उत्खनन रोक्न सुरक्षा निकायले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

