बारा, ०२ असार । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता जितेन्द्र सोनलले नेपाल–भारत सीमामा अत्यधिक नियन्त्रण लगाउने प्रयास भए मधेशमा त्यसको विरोधमा विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।

मधेश मिडिया काउन्सिलले मंगलबार बाराको कलैयामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीचको सीमा भौगोलिक विभाजनको रेखा भए पनि दुवै देशका नागरिकबीचको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध सदियौँदेखि कायम रहेको उल्लेख गरे ।

सीमामा आवश्यक नियमन आवश्यक भए पनि जनजीवन र परम्परागत व्यापारमा असर पर्ने गरी नियन्त्रण लगाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो । सरकारले सीमा नाकाबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन नपाइने व्यवस्था लागू गर्न खोजेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो कदम अन्ततः सरकारकै लागि प्रतिउत्पादक बन्न सक्ने बताए ।

‘निर्वाचनमार्फत प्राप्त जनादेशलाई हामी सम्मान गर्छौं । तर, जनमतको आडमा नागरिकलाई दुःख दिने काम उचित हुँदैन,’ उनले भने ।

सोनलले केन्द्र सरकारले संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोपसमेत लगाए । निर्वाचन आयोगका पदाधिकारीहरू आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले संवैधानिक संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा उनले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा चित्रण गर्दै स्वस्थ लोकतान्त्रिक अभ्यासका लागि सञ्चार क्षेत्रलाई प्रोत्साहन आवश्यक रहेको बताए । सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिए ।