बारा, ०२ असार । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान चौधरी आफ्नै एकतले पक्की घरको छतमा रहेका बेला अचानक लडेर गम्भीर घाइते भएका थिए । घटनामा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।

घटनालगत्तै परिवारजनले उनलाई उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल पुर्याएका थिए । प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल रेफर गरिएको थियो ।

उपचारकै क्रममा मंगलबार बिहान करिब ५ बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।