पुनः डोजर चलाउने तयारीमा सडक विभाग, वीरगञ्ज मेनरोडका बाँकी संरचना हटाइने

पर्सा, ०२ असार । त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी घर तथा भवनहरू हटाउन सडक विभागले पुनः डोजर परिचालन गर्ने तयारी गरेको छ ।
यसअघि गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सिरसिया मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डमा केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने संरचनाहरूमा डोजर चलाउँदै आंशिक रूपमा भत्काएको थियो । त्यसपछि सम्बन्धित घरधनीलाई आफैंले संरचना हटाउन समय दिइए पनि अधिकांशले अझैसम्म खाली नगरेपछि विभागले पुनः कारबाही प्रक्रिया अघि बढाएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमाभित्र रहेका बाँकी संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाइए सडक ऐन, २०३१ अनुसार विभाग आफैंले हटाउने चेतावनी दिइएको छ ।
कार्यालयले जारी गरेको सूचनामा वैशाखदेखि सुरु गरिएको सडक सीमा संरक्षण अभियानपछि पनि क्षतिग्रस्त तथा जोखिमयुक्त भवनहरूमा बसोबास र व्यापारिक गतिविधि जारी रहेको भन्दै त्यस्ता भवनमा नबस्न तथा व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । सूचनाको बेवास्ता गरी कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ ।
पहिलो चरणमा करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाइएको थियो । त्यसयता केही घरधनीले स्वेच्छाले संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै यथावत रहेका छन् ।
उता, सडक विस्तारको विरोधमा मेनरोड क्षेत्रका घरधनी तथा व्यवसायीहरू निरन्तर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले वीरगञ्जको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको सट्टा शहरी मार्गका रूपमा कायम गर्नुपर्ने तथा हालको सडक विस्तार योजना तत्काल रोक्नुपर्ने माग गर्दै आएका छन् ।
सडक विभागले भने राजमार्गको निर्धारित सीमाभित्र रहेका संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । यससँगै वीरगञ्जको मुख्य बजार क्षेत्रमा फेरि एकपटक डोजर चल्ने निश्चितजस्तै देखिएको छ ।

