जनकपुरधाम, ०२ असार । बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दामा दाबी गरिएको बिगो रकम बराबरको धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन् । प्रहरीले मुद्दाको अनुसन्धान भने जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा साहलाई छाडिएको हो ।

उनीसँगै पक्राउ परेका सिरहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडी पनि धरौटी प्रक्रिया पूरा गरेपछि रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले गत शुक्रबार साहलाई जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकबाट पक्राउ गरेको थियो ।

पक्राउपछि दुवैलाई अनुसन्धानका लागि काठमाडौं लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद बिक्रीको आर्थिक कारोबारलाई लिएर उत्पन्न विवादपछि साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको हो ।

रेस्टुरेन्ट खरिद गर्दा सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नभएको आरोप लगाउँदै शकुन्तला अधिकारी (थापा) ले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

उक्त उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

यद्यपि, धरौटी बुझाएपछि उनी हाल हाजिर जमानीमा रिहा भएका छन् भने मुद्दासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।