सात महिनादेखि तलबविहीन प्रयोगशालाकर्मी आन्दोलनमा, जनकपुरधाममा धर्ना

जनकपुरधाम, ०२ असार । मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै जनकपुरधाममा धर्ना प्रदर्शन गरेका छन् ।
प्रयोगशालाकर्मीहरूले मंगलबार जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना दिँदै आफ्ना माग तत्काल सम्बोधन गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
उनीहरूले आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनादेखि हालसम्म तलब नपाएको, चाडपर्व भत्ता उपलब्ध नगरिएको तथा सेवा सम्झौता (म्याद) नवीकरणसमेत अन्योलमा परेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
प्रयोगशालाकर्मी अनिल महतोका अनुसार सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारीहरू आर्थिक रूपमा गम्भीर समस्यामा परेका छन् ।
उनले चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सेवा सम्झौता नवीकरण प्रक्रिया टुंगोमा नपुग्नु चिन्ताजनक भएको बताए ।
प्रयोगशालाकर्मीहरूको संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले आफ्नो समस्याबारे सम्बन्धित निकायलाई पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरे ।
लामो समयसम्म पारिश्रमिकविहीन अवस्थामा कर्मचारीहरूलाई सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको उनको आरोप छ ।
प्रदर्शनमा सहभागी प्रयोगशालाकर्मीहरूले तलब अभावका कारण दैनिक जीवनयापनसमेत कठिन बन्दै गएको बताएका छन् ।
उनीहरूले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि राज्यबाट उपेक्षा गरिएको गुनासो गरेका छन् ।
संघर्ष समितिले बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, चाडपर्व भत्ता, पोशाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ ।
यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ ।
माग सम्बोधन नभए प्रदेशव्यापी थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि प्रयोगशालाकर्मीहरूले दिएका छन् ।
उनीहरूको आन्दोलनले प्रदेशका स्थानीय तहमा सञ्चालित प्रयोगशाला सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

