‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको स्वरूप फेरियो, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’

जनकपुरधाम, ०१ असार । एक समय मधेश प्रदेश सरकारको सबैभन्दा चर्चित र महत्वाकांक्षी योजनाका रूपमा रहेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’लाई परिमार्जन गर्दै प्रदेश सरकारले नयाँ स्वरूपमा अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’मा रूपान्तरण गरिएको छ ।
सोमबार प्रदेश सभामा राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले ‘शिक्षित छोरी, सुरक्षित मधेशः उद्यमशील नारी, समृद्ध मधेश’ भन्ने नारासहित महिलाको सीप विकास, उद्यमशीलता र आर्थिक सशक्तीकरणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
मधेश प्रदेशको पहिलो सरकारको कार्यकालमा सुरु भएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ एक समय प्रदेश सरकारको पहिचानकै रूपमा स्थापित भएको थियो ।
कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण, छोरी बीमा तथा लोकसेवा तयारी कक्षाजस्ता योजनाले राष्ट्रिय स्तरमै चर्चा पाएका थिए । तत्कालीन सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो ।
तर, पछिल्ला वर्षहरूमा कार्यक्रम प्रभावहीन बन्दै गएको थियो । साइकल खरिद प्रक्रियामा अनियमितताको आरोप लागेपछि कार्यक्रम विवादमा परेको थियो । त्यसयता योजना प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अधिकांश कार्यक्रम निष्क्रिय अवस्थामा पुगेका थिए ।
यही पृष्ठभूमिमा प्रदेश सरकारले पुरानो कार्यक्रमलाई नयाँ अवधारणा र उद्देश्यसहित पुनर्संरचना गर्दै महिलालाई स्वरोजगार, सीपमूलक तालिम तथा सहुलियतपूर्ण ऋणमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ ।

