मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, गत वर्षको तुलनामा १३ प्रतिशतले घट्यो आकार

जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवका लागि ल्याइएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ । स्रोतको सीमितता र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ ।
बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत रकम छुट्याइएको छ । प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउने लक्ष्यसहित पुँजीगत खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ ।
अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिनेछ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ ।

