जानकी मन्दिरदेखि गढीमाईसम्म धार्मिक सर्किट, पर्यटकीय बस सेवा सञ्चालन गरिने

जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई समेटेर ‘मधेश धार्मिक सर्किट’ निर्माण गर्ने भएको छ । साथै, लुम्बिनी, जनकपुरधाम र अयोध्यालाई जोड्ने सीमापार पर्यटन (क्रस बोर्डर टुरिज्म) को अवधारणालाई समेत अघि बढाइने भएको छ ।
सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले धार्मिक पर्यटनलाई प्रदेशको आर्थिक विकाससँग जोड्ने नीति लिइएको जानकारी दिए ।
उनका अनुसार धनुषास्थित जानकी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्सास्थित पर्सा वन्यजन्तु आरक्ष, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, महोत्तरीस्थित रौजा मजार तथा रौतहटको शिवनगर क्षेत्रलाई आपसमा जोडेर धार्मिक तथा सांस्कृतिक सर्किटको विकास गरिनेछ ।
बजेटमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न सहज र व्यवस्थित यातायात सेवा विस्तार गर्ने उद्देश्यले आरामदायी बस सेवा सञ्चालनमा ल्याउने व्यवस्था समेत गरिएको छ । यसले पर्यटकको यात्रा अनुभवलाई सहज बनाउनुका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस्तै, लुम्बिनी, जानकी मन्दिर र अयोध्यालाई जोडेर धार्मिक तथा सांस्कृतिक महत्वका गन्तव्यबीच सीमापार पर्यटनको विकास गरिने भएको छ । प्रदेश सरकारले नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई पर्यटन प्रवद्र्धनसँग जोड्दै अन्तरदेशीय पर्यटकको आवागमन बढाउने लक्ष्य लिएको जनाएको छ ।
सरकारको यो योजनाले मधेश प्रदेशलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

