जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा नयाँभन्दा पनि निर्माणाधीन आयोजनालाई सम्पन्न गर्ने नीति अवलम्बन गरेको छ ।

कृषि क्षेत्रको बजारीकरणलाई सुदृढ बनाउन कृषि करिडोर निर्माण गर्ने तथा कमला नदीमा वैकल्पिक पुल निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अधुरा तथा निर्माणाधीन आयोजनालाई पूर्णता दिने योजनालाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै सञ्चालनमा रहेका परियोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उनले उल्लेख गरे ।

कृषि क्षेत्रलाई उत्पादनसँगै बजारीकरणसँग जोड्ने उद्देश्यले प्रदेशका विभिन्न क्षेत्रमा कृषि करिडोर निर्माण गरिने बजेटमा व्यवस्था गरिएको छ । यसबाट किसानले उत्पादन गरेका कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन सक्ने र कृषि व्यवसायको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, धनुषा र सिरहा क्षेत्रलाई जोड्ने महत्वपूर्ण जलस्रोत कमला नदीमा वैकल्पिक पुल निर्माण गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । पुरानो संरचनामा दबाब बढ्दै जाँदा आवागमनलाई सुरक्षित, सहज र अवरोधरहित बनाउन नयाँ पुल निर्माणको अवधारणा अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले पूर्वाधार विकास र कृषि क्षेत्रको आधुनिकीकरणलाई आर्थिक समृद्धिको आधार मानेर बजेटमार्फत उत्पादन, यातायात तथा बजार व्यवस्थापनलाई थप सुदृढ बनाउने नीति लिएको जनाएको छ ।