आवास योजनालाई एकीकृत गर्दै ‘मुख्यमन्त्री आवास कार्यक्रम’ सञ्चालन हुने

जनकपुरधाम, ०१ असार । मधेश प्रदेश सरकारले बढ्दो लागुऔषध दुर्व्यसन तथा मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न विद्यालय र सार्वजनिक स्थल केन्द्रित योग तथा ध्यान अभियान सञ्चालन गर्ने भएको छ । साथै, विगतदेखि सञ्चालनमा रहेका आवाससम्बन्धी कार्यक्रमलाई एकीकृत गर्दै नयाँ ‘मुख्यमन्त्री आवास कार्यक्रम’ लागू गर्ने घोषणा गरेको छ ।
सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले युवापुस्तामा बढ्दो लागुऔषध दुर्व्यसन र मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीलाई सम्बोधन गर्न विद्यालय तथा सार्वजनिक स्थलहरूमा योग र ध्यानसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार नियमित योग तथा ध्यान अभ्यासमार्फत विद्यार्थी तथा सर्वसाधारणमा सकारात्मक सोचको विकास, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारले यस कार्यक्रमलाई मानसिक स्वास्थ्य प्रवद्र्धन तथा लागुऔषध दुव्र्यसन नियन्त्रणको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने जनाएको छ ।
यस्तै, आवास क्षेत्रमा सञ्चालन हुँदै आएका महेन्द्रनारायण निधि आवास कार्यक्रम र मदन भण्डारी आवास कार्यक्रमलाई एकीकृत गरी ‘मुख्यमन्त्री आवास कार्यक्रम’ सञ्चालनमा ल्याइने भएको छ । एकीकृत कार्यक्रममार्फत विपन्न तथा आवासविहीन परिवारलाई व्यवस्थित रूपमा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य लिइएको अर्थमन्त्री भट्टराईले बताए ।
प्रदेश सरकारले बिखण्डित रूपमा सञ्चालन भइरहेका योजनालाई एउटै छातामुनि ल्याएर कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा लक्षित वर्गसम्म सेवाको पहुँच विस्तार गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।

