धनुषामा प्रहरी–समुदाय समन्वय सुदृढ गर्न सरोकारवालासँग छलफल

जनकपुरधाम, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा क्रियाशील विभिन्न संघसंस्था, पूर्व प्रहरी संगठन तथा मुस्लिम अगुवाका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
प्रहरी कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले सहभागीहरूसँग परिचय आदान प्रदान गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणका लागि पूर्व प्रहरी तथा सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाले पनि जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनचेतनामूलक गतिविधिमा अझ सक्रिय रूपमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा आपसी परिचय, अनुभव आदान प्रदान तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल गरिएको थियो ।
प्रहरी र सरोकारवाला निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै धनुषा जिल्लाको शान्ति सुरक्षामा योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ ।





