जनकपुरधाम, ३१ जेठ । मधेश प्रदेशका सबै घरधुरीमा विद्युत सेवा पुगेको सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार प्रदेशसभामा पेश गरिएको सर्वेक्षणमा राष्ट्रिय प्रसारणमार्फत प्रदेशका १ सय ३६ स्थानीय तहका १ हजार २ सय ७१ वडाका सम्पूर्ण घरधुरीमा विद्युत पहुँच सुनिश्चित भएको दाबी गरिएको हो ।

अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार मधेश प्रदेशका सबै पालिकामा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भइसकेको छ ।

प्रदेशभर बैंक तथा वित्तीय संस्थाका १ हजार ७ सय ५४ शाखामार्फत सेवा प्रवाह भइरहेको पनि उल्लेख गरिएको छ ।

तर, आर्थिक सर्वेक्षणले मधेश प्रदेशको आर्थिक वृद्धि दर कृषि क्षेत्रमा आएको गिरावटका कारण केवल १.३१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

कृषि क्षेत्र अझै पनि प्रदेशको अर्थतन्त्रको प्रमुख आधार रहेको भन्दै यसको योगदान महत्वपूर्ण रहेको जनाइएको छ ।

सर्वेक्षणमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान कुल अर्थतन्त्रमा ३४.९७ प्रतिशत रहेको उल्लेख छ ।

यद्यपि, समग्र अर्थतन्त्र कृषि निर्भर रहेको संकेत गर्दै अन्नबाली उत्पादनमा कमी आए पनि तरकारी, फलफूल तथा माछा मासुको उत्पादनमा वृद्धि भएको तथ्यसमेत प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पनि यही आर्थिक सर्वेक्षणले देखाएको अवस्थालाई आधार बनाएर ल्याइने बताए ।

प्रदेशसभाको अर्को बैठक असार १ गते बस्ने भएको छ । सो बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित बजेट पेश हुने सभामुख रामआशिष यादवले जानकारी दिएका छन् ।