श्रीपुर बजारमा जुवा खेल्दै गरेका १२ जना पक्राउ

पर्सा, ३१ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजारस्थित एक घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर १२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवाको खालबाट नगद ४१ हजार ३३५ रुपैयाँ तथा पाँच बुक तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूको नाम र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन ।
पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
जिल्लामा अवैध जुवा तथा तास खेल्ने गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

