पर्सामा खेतबाट १ सय किलो गाँजा बरामद

पर्सा, ३१ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका–३ मरैया चोकस्थित एक खेतबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
संयुक्त सुरक्षा टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको खोजतलासका क्रममा बेवारिसे अवस्थामा राखिएको १ सय किलो गाँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मरैया चोक नजिकैको खेतमा चामल राख्ने पाँचवटा बोराभित्र प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो । बरामद गाँजा सुरक्षित रूपमा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले गाँजा कसले र कहाँबाट ल्याएर खेतमा राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि सुरक्षा निकायले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताए ।
प्रहरीका अनुसार गाँजा बरामद भएको स्थान सीमा क्षेत्रसँग नजिक भएकाले तस्करी सञ्जालको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ । घटनासम्बन्धी थप विवरण संकलन गर्ने तथा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

