नेपालले कसैको भूमि नमिचेको दाबी, प्रमाण भए सार्वजनिक गर्न उपेन्द्र यादवको चुनौती

पर्सा, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि नमिचेको बताएका छन् ।
पर्सामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले छिमेकी राष्ट्रको भूमि अतिक्रमण गरेको भन्ने दाबी तथ्यहीन रहेको जिकिर गरेका हुन् ।
अध्यक्ष यादवले आफू दुई पटक नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेको स्मरण गराउँदै हालसम्म नेपालले भारतको भूमि मिचेको भन्ने कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताए । उनले यस्तो संवेदनशील विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने धारणा राखे ।
उनले भारतले समेत हालसम्म नेपालले आफ्नो भूमि अतिक्रमण गरेको दाबी नगरेको अवस्थामा नेपालकै तर्फबाट यस्तो विषय उठाइनु आश्चर्यजनक भएको टिप्पणी गरे । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उनको भनाइ थियो ।
‘नेपालले भारतको भूमि मिचेको भनिएको छ भने त्यसको आधार, तथ्य र प्रमाण सार्वजनिक हुनुपर्छ,’ यादवले भने, ‘यस्तो गम्भीर विषयमा कसैले दाबी गर्छ भने त्यसलाई पुष्टि गर्ने जिम्मेवारी पनि उसैको हुन्छ ।’
अध्यक्ष यादवले राष्ट्रिय हित, सीमा सम्बन्ध र परराष्ट्र नीतिसँग जोडिएका विषयमा अनावश्यक विवाद सिर्जना गर्नेभन्दा पनि तथ्यपरक बहस आवश्यक रहेको बताए । उनले यस्ता अभिव्यक्तिले कूटनीतिक सम्बन्धमा समेत असर पार्न सक्ने भएकाले सबै पक्षले जिम्मेवारीपूर्वक धारणा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले समसामयिक राजनीतिक विषय, लोकतान्त्रिक अभ्यास तथा राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित मुद्दामा पनि आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

