जनकपुरधाम, ३१ जेठ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र व्यावसायिक बनाउने उद्देश्यले सरोकारवालाहरूसँग कार्यविधि सम्बन्धी विस्तृत छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सञ्चारकर्मी, पत्रकार महासंघका पदाधिकारी, सञ्चार क्षेत्रका विज्ञ तथा विभिन्न जिल्लाका पत्रकार प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई अझ जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउन स्पष्ट कार्यविधिको आवश्यकता रहेको बताए । उनले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सञ्चार क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

‘सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण मात्र नभई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागिएको हो,’ मन्त्री महतोले भने, ‘पत्रकार र सञ्चार संस्थाको हकहित संरक्षण गर्दै व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।’

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडकाले कार्यविधि निर्माण प्रक्रियामा सरोकारवालाको सुझावलाई उच्च महत्व दिइने बताए । उनले सञ्चार क्षेत्रको वर्तमान अवस्था, डिजिटल माध्यमको विस्तार तथा बदलिँदो प्रविधिलाई ध्यानमा राखेर कार्यविधि तयार गरिने जानकारी दिए । पत्रकारिता क्षेत्रका चुनौती, अवसर र आवश्यकतालाई समेट्ने गरी नीति तथा कार्यविधि निर्माण गरिने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछानेले कार्यविधि निर्माण गर्दा पत्रकारको पेशागत स्वतन्त्रता र संवैधानिक अधिकारलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । उनले सञ्चार क्षेत्रको विकासका लागि राज्य र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए ।

महासंघका केन्द्रीय सदस्य राजेश कर्णले प्रदेशस्तरमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न खोजिएको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै कार्यविधि व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिए । उनले पत्रकारको क्षमता अभिवृद्धि, श्रम अधिकार तथा सञ्चार संस्थाको दिगोपनालाई पनि प्राथमिकतामा राख्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिताको बदलिँदो परिवेशलाई ध्यानमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै पनि कानुनी वा नीतिगत व्यवस्था बनाउँदा पत्रकार महासंघ र सरोकारवालासँग निरन्तर परामर्श गर्नुपर्ने बताए ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् । उनले सञ्चार क्षेत्रलाई उत्तरदायी र मर्यादित बनाउन नीति, कानुन र आत्मनियमन सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवण देव, सिरहा अध्यक्ष मनोज मोरबैता, महोत्तरी अध्यक्ष महेश दास, सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुर, रौतहटका अध्यक्ष सञ्जय कार्की, बारा अध्यक्ष रमेश सुवेदी तथा पर्सा शाखाका संस्थापक पूर्वअध्यक्ष दिपेन्द्र चौहानलगायतले आ–आफ्नो धारणा राख्दै पत्रकारिता क्षेत्रका समस्या, चुनौती तथा सम्भावित समाधानबारे सुझाव प्रस्तुत गरेका थिए ।

वक्ताहरूले विशेष गरी पत्रकारको पेशागत सुरक्षा, सञ्चार संस्थाको आर्थिक सुदृढीकरण, डिजिटल पत्रकारिताको व्यवस्थापन, फेक न्युज नियन्त्रण, पत्रकार कल्याण कोषको प्रभावकारी सञ्चालन तथा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनजस्ता विषयलाई कार्यविधिमा समेट्न आग्रह गरेका थिए ।

छलफलका क्रममा सहभागीहरूले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई सूचना प्रवाहको माध्यमका रूपमा मात्र नभई लोकतन्त्र, सुशासन र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले नीति निर्माण प्रक्रियामा सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत गरेका थिए ।

यसैबीच, कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका वरिष्ठ पत्रकारहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित पत्रकारहरूको योगदानको कदर गर्दै प्रमुख अतिथि तथा अतिथिहरूले सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।

वक्ताहरूले अनुभवी पत्रकारहरूको ज्ञान, अनुभव र योगदान नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै पत्रकारिताको मर्यादा र विश्वसनीयता कायम राख्न उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष खडकाले छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेटेर कार्यविधिलाई अन्तिम रूप दिइने जानकारी दिँदै सरोकारवालाको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गरे । उनले प्रदेशको सञ्चार क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र उत्तरदायी बनाउने दिशामा आमसञ्चार प्राधिकरण निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।