गुगल सर्टिफाइड इनोभेटर बने मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु

जनकपुरधाम, ३१ जेठ । मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु कुमार साह प्रतिष्ठित ‘गुगल फर एजुकेशन सर्टिफाइड इनोभेटर’ कार्यक्रममा छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको यो उपलब्धिसँगै डा. साहले नेपाललाई विश्व शिक्षा नवप्रवर्तनको मञ्चमा प्रतिनिधित्व गरेका हुन् ।
स्विडेनको राजधानी स्टकहोमस्थित गुगल स्विडेनमा आयोजित इनोभेटर एकेडेमीमा सहभागी भएका डा. साहले विश्वका विभिन्न मुलुकका शिक्षाविद्हरूसँग सहकार्य, सिकाइ तथा अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा नवप्रवर्तनलाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘डिजाइन थिंकिङ’, ‘प्रोटोटाइप निर्माण’ तथा कक्षाकोठामा देखिएका वास्तविक समस्याका व्यावहारिक समाधान विकास गर्ने विषयमा केन्द्रित प्रशिक्षण र छलफल गरिएको थियो ।
सहभागीहरूले शिक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी र प्रविधिमैत्री बनाउन आवश्यक सीप तथा अवधारणाबारे गहन अध्ययन गरेका थिए ।
डा. साहले यो उपलब्धिलाई आफ्नो शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले शिक्षा क्षेत्रमा नवीन सोच, सिर्जनशीलता र प्रविधिको प्रभावकारी प्रयोगलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार शिक्षा क्षेत्रमा नवप्रवर्तन भनेको आधुनिक प्रविधिको प्रयोग मात्र नभई विद्यार्थीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रत्येक विद्यार्थीलाई आफ्नो सम्भावनाको उच्चतम उपयोग गर्न सहयोग पुर्याउने प्रक्रिया हो ।
कार्यक्रमबाट प्राप्त ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले आगामी दिनमा विद्यार्थी, शिक्षक तथा विद्यालयहरूको विकासका लागि नवप्रवर्तन र उद्यमशीलतामार्फत थप प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलेको डा. साहले बताए ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाएको अवसरप्रति आभार व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको गुगल स्विडेन टोली तथा क्यानोपी एजुकेशनप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
शिक्षामा प्रविधिको प्रयोग, नवप्रवर्तन र सिर्जनशील अभ्यासलाई प्रोत्साहन गर्दै आएका डा. साहको यो उपलब्धिलाई नेपाली शिक्षा क्षेत्रका लागि गौरवको विषयका रूपमा हेरिएको छ ।







Screenshot




