जनकपुरधाम, ३० जेठ । धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठमन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा बढ्दो अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गुठी संस्थानले अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

गुठी संस्थानको प्रधान कार्यालयले जारी गरेको सूचनामा धनुषाका विभिन्न स्थानमा रहेका राजगुठी अन्तर्गतका मठमन्दिर परिसर, पोखरीका डिल तथा गुठीको स्वामित्वमा रहेका जग्गा व्यक्ति तथा संस्थाहरूले अनधिकृत रूपमा कब्जा गरी संरचना निर्माण गरेर भोगचलन गरिरहेको पाइएको उल्लेख गरिएको छ ।

संस्थानले यस्ता अतिक्रमित क्षेत्र तत्काल खाली गरी पूर्वावस्थामा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सूचनामा गुठी सम्पत्तिको संरक्षण तथा व्यवस्थापन राज्यको दायित्व भएकाले सार्वजनिक तथा धार्मिक महत्वका जग्गा अतिक्रमणमुक्त बनाउने अभियानलाई तीव्रता दिइएको जनाइएको छ ।

गुठी संस्थानका अनुसार सूचना जारी भएपश्चात पनि अतिक्रमण हटाउने कार्य नगरिए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

संस्थानले गुठी सम्पत्तिको संरक्षणमा स्थानीय तह, सरोकारवाला निकाय तथा सर्वसाधारणको सहयोगसमेत अपेक्षा गरेको छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएका गुठीका जग्गा पछिल्लो समय विभिन्न बहानामा अतिक्रमणमा पर्दै गएको गुनासो बढिरहेका बेला गुठी संस्थानको यो कदमलाई सम्पदा संरक्षणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।