फोहोरलाई ‘कोसेली’ बनाएर सरोकारवाला निकायको ध्यानाकर्षण

जनकपुरधाम, ३० जेठ । जनकपुरधाममा बढ्दो फोहोर र कमजोर सरसफाइ व्यवस्थापनप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीय सरसफाइ अभियन्ताहरूले अनौठो विरोध कार्यक्रम गरेका छन् ।
उनीहरूले नगरका विभिन्न स्थानबाट संकलन गरिएको फोहोर ‘कोसेली’का रूपमा प्रमुख सरकारी कार्यालयहरूमा पुर्याएका छन् ।
धनुषसागर सरसफाइ अभियानमा सक्रिय अभियन्ता जयनाथ अधिकारीको नेतृत्वमा युवाहरूको टोलीले जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा जिल्ला प्रशासन कार्यालय धनुषामा फोहोर पुर्याएर सरसफाइ व्यवस्थापनमा देखिएको लापरबाहीप्रति असन्तुष्टि जनाएको हो ।
अभियन्ता अधिकारीले जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण नगर भए पनि फोहोर व्यवस्थापन प्रभावकारी हुन नसकेको बताए ।
नगरका सडक, सार्वजनिक स्थल तथा जलाशय आसपास फोहोरको समस्या बढ्दै गए पनि सम्बन्धित निकायले पर्याप्त चासो नदेखाएको उनको आरोप छ ।
उनले नगरको सौन्दर्य जोगाउन, नागरिक स्वास्थ्य सुरक्षित राख्न तथा धार्मिक पर्यटकीय छवि संरक्षण गर्न सरसफाइ व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
फोहोर व्यवस्थापनमा स्थानीय तह, प्रदेश सरकार, प्रशासन र नागरिक सबैको साझा जिम्मेवारी रहेको भन्दै उनले दीर्घकालीन र प्रभावकारी समाधानको माग गरे ।
सरसफाइ अभियन्ताहरूले जनकपुरधामलाई स्वच्छ र व्यवस्थित शहरका रूपमा विकास गर्न तत्काल ठोस योजना बनाई कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
उनीहरूले जनप्रतिनिधि तथा सरकारी निकायले सरसफाइलाई अभियानमा मात्र सीमित नराखी नियमित र दिगो व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

