जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशका सबै जिल्लामा आगामी असार ४ गते एकैसाथ बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने भएको छ ।

प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले कार्यक्रम सफल बनाउन आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

यसैक्रममा चिकित्सालयले शनिबार स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न स्थानीय तहमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा स्वर्णविन्दु तयार गर्ने विधि, सुरक्षित भण्डारण तथा बालबालिकालाई खुवाउने प्रक्रियाबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको चिकित्सालयले जनाएको छ ।

प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डा. महारुद्र ठाकुरका अनुसार स्वर्णविन्दुले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउन र स्मरणशक्ति तथा बौद्धिक क्षमताको विकास गर्न मद्दत पुर्‍याउँछ ।

आयुर्वेद चिकित्सक डा. नन्दकिशोर कुशवाहाले स्वर्णविन्दुमा स्वर्ण भष्म र ब्राह्मी घृतजस्ता आयुर्वेदिक सामग्री प्रयोग गरिने जानकारी दिए । उनका अनुसार जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई यो प्राशन गराउने व्यवस्था गरिएको छ ।

डा. ठाकुरले स्वर्णविन्दु प्राशनले बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । मधेश प्रदेशमा पहिलोपटक प्रदेशस्तरमा समन्वय गरी यो कार्यक्रम सञ्चालन हुन लागेको उनले बताए ।

नेपाल सरकारले मान्यता दिएको यो कार्यक्रम मधेश प्रदेशका धनुषासहित आठवटै जिल्लामा एकैदिन सञ्चालन गरिने तयारी रहेको प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।