सेलिब्रेटी सेफ सन्तोष साह पक्राउ

जनकपुरधाम, ३० जेठ । ठगीसम्बन्धी मुद्दामा सेलिब्रेटी सेफ सन्तोष साह पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोक क्षेत्रबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सिरहाको कर्जन्हा नगरपालिका–११ घर भएका साह पछिल्लो समय विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहेका थिए ।
प्रहरीका अनुसार चितवन घर भई काठमाडौंमा बसोबास गर्दै आएकी सकुन्तला थापाले साहविरुद्ध ठगीको उजुरी दिएकी थिइन् । थापाले करिब दुई वर्षअघि काठमाडौंको गैरीधारास्थित आफ्नो रेस्टुरेन्ट साहलाई २ करोड २५ लाख रुपैयाँमा बिक्री गरेको दाबी गरेकी छन् ।
उनका अनुसार कारोबारको क्रममा केही रकम प्राप्त भए पनि १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी रहेको छ । बाँकी रकम माग गर्दा विभिन्न कारण देखाउँदै भुक्तानी टार्दै आएको आरोप उनले लगाएकी छन् ।
थापाले एक वर्षअघि साहले दिएको चेक बैंकमा प्रस्तुत गर्दा खातामा पर्याप्त रकम नभएको बताएकी छन् । त्यसपछि आफूले कानुनी प्रक्रियाअन्तर्गत प्रहरीमा उजुरी दिएको उनको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अदालतबाट आवश्यक म्याद थप गरी साहमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ ।

