बैंकिङ कसुर मुद्दामा बर्दिवास–९ का वडाध्यक्ष पक्राउ

महोत्तरी, २९ जेठ । महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासले फरार सूचीमा रहेका महतोलाई खोजी गर्ने क्रममा बर्दिवास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनीविरुद्ध स्थानीयवासीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा महतोविरुद्ध करिब एक महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर, लामो समयसम्म पक्राउ नपरेपछि प्रहरीको कार्यसम्पादनमाथि स्थानीयस्तरमा प्रश्न उठ्न थालेको थियो ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी गुरु प्रसाद तिमिल्सिनाले अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार बैंकिङ कसुरसँगै अभद्र व्यवहारसम्बन्धी आरोपमाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ ।
प्रहरीले घटनासम्बन्धी प्रमाण संकलन तथा बयान लिने काम जारी रहेको जनाएको छ । अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक गरिने डीएसपी तिमिल्सिनाले बताए ।

