जनकपुरधाम, २९ जेठ । जनकपुरधाममा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित जनकपुर डिजल सेन्टर अगाडि बिहान करिब ९ बजे तेल हालेर सडकमा निस्किँदै गरेको जेसिबी र महेन्द्रनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (बिआर ३० एक्यु ०२५६) को मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक महोत्तरीको मराशिसवा नगरपालिका–९ बथनाहाका ६५ वर्षीय विपिनकुमार झालाई तत्काल उपचारका लागि जनकपुरधामस्थित साई ट्रमा अस्पताल लगिएको थियो ।

तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार दुर्घटनापछि जेसिबी चालक फरार भएका छन् ।

फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।