जनकपुरधाम, २९ जेठ । मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौं वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष अलीले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार गरिएको प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षभरि गरेका गतिविधि, कार्यक्रम तथा उपलब्धिहरू समेटिएका छन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले आयोगले मुस्लिम समुदायका हक, हित र अधिकार संरक्षणका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै प्रतिवेदनमा उठाइएका विषयवस्तुले नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुस्लिम आयोगले समुदायका समस्या, चुनौती तथा समाधानका उपायबारे अध्ययन, अनुसन्धान तथा सरोकारवाला निकायसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजिप कुमार दुब्बेका अनुसार प्रतिवेदन संविधानले व्यवस्था गरेअनुसार औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष पेश गरिएको हो ।