बारा, २९ जेठ । मधेश प्रदेशका पर्यटकीय गन्तव्य, संस्कृति तथा स्थानीय परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मधेश ट्राभल मार्ट’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको मार्टबारे नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले बाराको सिमरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले मार्टअन्तर्गत वीरगञ्ज, बारा र जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार मधेश प्रदेशका आठवटै जिल्लाका पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा तथा स्थानीय खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

‘बारा पर्सासहित मधेशका आठै जिल्लाको पर्यटन सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्दै भारतीय बजारसम्म पुर्याउने उद्देश्य हाम्रो छ,’ अध्यक्ष शर्माले भने ।

मार्टको औपचारिक उद्घाटन शुक्रबार वीरगञ्जमा हुनेछ । त्यसपछि सहभागीहरूलाई मधेशका विभिन्न पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको अवलोकन गराइने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको सचिवालय बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा राखिएको छ भने वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाले समेत सहकार्य गरेका छन् ।

आयोजकका अनुसार चार दिनसम्म सञ्चालन हुने मार्टमा नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर तथा पर्यटकहरूको सहभागिता रहनेछ । कार्यक्रममा ‘बी–टु–बी’ बैठक, पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र स्थानीय तहहरूको सहलगानीमा आयोजना गरिएको कार्यक्रमले मधेश प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । विशेषगरी धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका मधेशका गन्तव्यहरूलाई भारतीय पर्यटन बजारसँग जोड्ने तथा सीमापार पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य मार्टले राखेको आयोजकले जनाएको छ ।

पर्यटन व्यवसायीहरूले यस्तो कार्यक्रमले मधेश प्रदेशको पहिचान, संस्कृति र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।