विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन माग गर्दै तालाबन्दी

जनकपुरधाम, २८ जेठ । विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन ढिलाइ भएको भन्दै स्थानीय अभिभावक तथा निर्वाचित सदस्यहरूले जनकपुरधाम उपमहानगरपालिका–२५ वभनगामास्थित श्री कण्टिर झा नमूना माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।
स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य निर्वाचित भएको करिब अढाई वर्ष बितिसक्दा पनि समितिले पूर्णता पाउन सकेको छैन ।
यसै विषयमा असन्तुष्टि जनाउँदै स्थानीय अभिभावक र निर्वाचित सदस्यहरूले बिहीबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका निर्वाचित सदस्य मो. कलाम, सुरेश मण्डल तथा स्थानीय राजकिशोर साहको अगुवाइमा तालाबन्दी गरिएको स्थानीय मो. जिलानीले बताए ।
उनका अनुसार प्रधानाध्यापक शैलेन्द्र मल्लिकले विभिन्न कारण देखाउँदै समितिलाई पूर्णता दिन चासो नदिएको आरोप स्थानीय पक्षको छ ।
स्थानीयले समितिको तीनवर्षे कार्यकाल सकिन अब करिब ६ महिनामात्र बाँकी रहँदा पनि अध्यक्ष चयन हुन नसकेको भन्दै विद्यालय प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावकारी बनाउन व्यवस्थापन समितिलाई तत्काल पूर्णता दिन माग गरेका छन् ।
स्थानीय अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर समेत खस्किँदै गएको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयबाट सहभागी करिब एक सय विद्यार्थीमध्ये १८ जना मात्र उत्तीर्ण भएका थिए ।
विद्यालयमा अनुशासन तथा शैक्षिक वातावरण कमजोर बन्दै गएको उनीहरूको दाबी छ ।
तालाबन्दीपछि विद्यालयको पठनपाठन तथा प्रशासनिक कामकाज प्रभावित भएको बताइएको छ ।
स्थानीयले आफ्ना मागप्रति सम्बन्धित निकायले चाँडो ध्यान नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

